Friday, April 27, 2012

कम्युनिस्ट पार्टीमा अमिबा प्रवृत्ति

भारतको कलकत्ता, श्यामबजार इलाकामा २००६ सालमा एउटामात्रै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना गरिएको थियो र संस्थापक नेताहरूले पार्टी विभाजनको त सपना पनि देखेका थिएनन् होला। अहिले २०६९ सालमा कति वटा कम्युनिस्ट पार्टी छन् भन्ने सायद नेपाल कम्युनिस्ट पार्टीका जीवित संस्थापक नरबहादुर कर्माचार्यलाई थाहा पनि नहुनसक्छ।
जीवनको उत्तरार्द्धमा कर्माचार्य दाइलाई नेकपाका विभिन्न घटक, तीभित्रका उपघटकको संख्या, तिनको पहिचान र प्रवृत्तिबारे सोच्दा पनि कहालीलाग्दो हो। सबै घटकबीच पार्टीगत एकता, एकता नभए मोर्चा वा कार्यगत एकताको पक्षपाती रहेका कर्माचार्य दाइको एउटै नेकपा बनाउने सपना 'खयाली पुलाउ'मात्रै हुने हो पो कि? यसै भन्न सकिँदैन।
हुन पनि पार्टी स्थापनाको छ दशकभन्दा बढी वर्षमा नेकपा कति धेरै पटक फुट्यो र कम पटकमात्रै जुट्यो भन्ने भेउ पाउनै मुस्किल छ। त्यस्तो मुस्किल कर्माचार्य दाइ र जुनसुकै नेकपाका नेता कार्यकर्तालाई मात्रै होइन, नेकपाको इतिहास लेखेका भीम रावल र सुरेन्द्र केसी पनिलाई हुन्छ। त्यसरी गाह्रो हुनुको कारण हो, जुट्नभन्दा फुट्न जान्ने पहिचान बनाएका नेताहरूमा अमिबा प्रवृत्ति हुनु। एउटा अमिबा बन्न नपाई त्यसैबाट अर्काे अमिबा बन्ने प्रवृत्ति व्यापक छ। एउटा पार्टी लामो समयसम्म क्रियाशील र बलियो हुन नपाउँदै फु्ट्ने अमिबा प्रवृत्तिबाट कुनै पनि कम्युनिस्ट पार्टी अछुतो छैन।
नेकपाको फुटमा बाहिरबाहिर सैद्धान्तिक र राजनीतिक रंग लिपिएको हुन्छ तर भित्रभित्र भने पार्टी सत्ता कब्जा गर्ने र आफू नेतृत्वमा आसीन हुने महŒवाकांक्षा लुकेको हुँदोरहेछ। त्यस्ता महŒवाकांक्षालाई मलजल गर्न नै गुटउपगुट बनाउने चलन छ। पछिल्लो चरणमा आएर विचारसमूहको नाममा पनि गुटउपगुटै बनाइएको छ। विचारसमूहले त वैचारिक र सैद्धान्तिक समस्यामा आलोचनात्मक भिन्न मत बनाउने र बहसलाई नयाँ उचाइ, गहिराइ र व्यापकता दिने काम गर्नुपर्ने हो। यहाँ त विचारसमूहलाई पदका लागि मोलमोलाइ गर्ने र मुख्य नेतृत्वलाई पदच्युत गर्ने अवैध नियत पूरा गर्ने माध्यमका रूपमा प्रयोग गरिँदैछ। यस अर्थमा विचारसमूह पनि नेतृत्व हत्याउने महŒवाकांक्षा र लालचाकै अर्काे रूप भएको छ। त्यसले सिकार बनाउने क्रममा दुई दशकदेखि एक ढिक्का रहेको माओवादीलाई सग्लो रहन नदिने जोखिम बढ्दो छ।
नेपालको कम्युनिस्ट राजनीतिमा अहिले मूलतः दुई धारबीच संघर्ष छ। एक धारको नेतृत्व माओवादीले गरिरहेको छ भने अर्काे धारको अगुवाइ एमालेले। नेतृत्वका लागि लडाइँ माओवादीभन्दा भिन्न धार र भिन्न विचार अँगाल्दै आएको एमालेमा पनि जारी छ। एमाले अध्यक्ष झलनाथ खनाल र प्रभावशाली नेता केपी शर्मा ओलीबीच नयाँ गठबन्धन बनेपछि माधव नेपाल र ईश्वर पोखरेलको गुटले प्रतिस्पर्धा गर्न थालेको छ। तर ती गुटको द्वन्द्व माओवादीको जस्तो सडक संघर्षसम्म छताछुल्ल भएको छैन न त नेतृत्वको पुत्लादहनसम्म अराजनीतिक नै भएको छ। संसदीय राजनीतिमा रमाएको एमालेभित्र गुटउपगुटको झैझगडा र मेलमिलापको नाटक संसदीय राजनीतिक परिदृश्यमा अनौठो होइन। सरकार, संसद् र पार्टीको सत्तामाथि कब्जाका लागि संसद्वादी पार्टीमा गुटगत द्वन्द्व हुनु अस्वाभाविक होइन।
निजी महŒवाकांक्षा र लालचा पूर्तिका लागि गुटउपगुटको निर्माण गर्ने र त्यसलाई सके दार्शनिक आवरणले ढाक्ने नसके सैद्धान्तिक र राजनीतिक लेपनका साथ कार्यकर्ता र जनतालाई भ्रमित पार्ने काममा माओवादीदेखि एमालेसम्ममा प्रतिस्पर्धा छ। पार्टीको नामदेखि घोषणापत्रसम्म, भाषणदेखि आरोप-प्रत्यारोपको वर्षासम्म हेर्दा देखिन्छ : उनीहरूको नामदेखि कामसम्ममा पाखण्डपन छ। 'जसको सिङ छैन, उसैको नाम तीखे' भन्ने उखान प्रत्येक पार्टीको पुच्छरले चरितार्थ गरेको छ। जसको विचार र व्यवहारमा मार्क्सवाद र लेनिनवादसँग गोरू बेचेको साइनो पनि छैन त्यही पार्टीको नाम एकीकृत मार्क्सवादी लेनिनवादी छ। जसको आचरण माओवाद वा माओ विचारसँग क्रमभंग गर्दै अगाडि बढेको छ त्यही पार्टीको नाम पनि माओवादी नै छ। सिद्धान्त र सिद्धान्तअनुसारको सत्कर्मप्रति कम निष्ठा भएका कम्युनिस्ट नेताहरूले पार्टीको नाममा अनेक पुच्छर गाँसेर आफूलाई सिँगार्न खोज्दा विरोधाभास हुनु स्वाभाविकै हो। सार्वजनिक खपतका लागि लोभलाग्दा नामले सजाउँदासजाउँदै पनि कुरूप यथार्थ कतिन्जेल सम्म लुकाएर राख्न सकिन्छ र?
पार्टीको नाम र नेताहरूको प्रवृत्तिका सन्दर्भमा कम्युनिस्ट राजनीतिको दुई अतिवादी ध्रुवमा रहेका खड्गप्रसाद शर्मा ओलीदेखि नेत्रविक्रम चन्द 'विप्लव'ले माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई आक्रमण गर्ने क्रममा अर्धसत्य प्रकट गरेका छन्। ओलीले 'हिंसामा विश्वास गर्ने प्रचण्डलाई कम्युनिस्ट मान्ने हो भने म कम्युनिस्ट होइन' भन्ने सत्यबोध अभिव्यक्त गरेका छन्, आफूले झापा विद्रोहमा गरेको हिंसालाई बिर्सेर। यथार्थमा न दाहाल कम्युनिस्ट हुन्, न त ओली नै। अहिलेलाई त दुवै जना प्रगतिशील र जनमुखी रूपान्तरणको एजेन्डामात्रै बोक्ने वामपन्थी भए पनि धन्य! कम्युनिज्मप्रति आस्था पोखेकै भरमा कोही कम्युनिस्ट हुँदैन न त मार्क्सवादी लेनिनवादी वा माओवादी नामधारी पार्टीका नेता हुँदैमा कम्युनिस्टै होइन्छ।
चन्दले पनि दाहाललाई प्रहार गर्ने क्रममा उनी माओवादी नभएको र आफूहरू मात्रै सच्चा माओवादी भएको उद्घोष गरेका छन्। आफूलाई सच्चा माओवादी सिद्ध गर्न कम्मर कसेका चन्दहरूले जसरी अहिले प्रचण्डपथको सैद्धान्तिक लेपन बेठिक भएको महसुस गर्दैछन् त्यसरी नै माओवादी बिल्ला पनि घाँडो भएको अनुभूत गर्ने दिन आउँछ नै। जहाँसम्म दाहालको सन्दर्भ छ, उनी माओवादीभन्दा बढी प्रगतिशील र जनमुखी रूपान्तरणको एजेन्डा बोक्ने वामपन्थी मात्रै भइरहे पनि ससानो क्रान्ति हुनसक्छ। र, उनको मात्रै जोड चल्यो भने कुनै पनि पुच्छरबिनाको एकीकृत नेकपा बनाउने र त्यसका एकमात्र राष्ट्रपति उम्मेदवार बन्ने सम्भावना पनि रहन्छ।
नरबहादुर कर्माचार्यदेखि दाहालसम्मको एकीकृत नेकपा बनाउने सपना पुरा होला कि नहोला त्यो भने अहिले भन्न सकिने अवस्था छैन। किनभने त्यसलाई साकार तुल्याउन नदिने संक्रामक रोग नेकपाहरूमा व्याप्त छ। अहिले दुई ठुला पार्टीबाहेक अन्य एक दर्जनजति नेकपा पनि विभिन्न पुच्छर झुन्ड्याएर क्रियाशील छन्। ठुला हुन् या साना, सबैजसा नेकपा वा अन्य नामधारी कम्युनिस्ट पार्टीमासंकीर्ण सोचको रोग छ। आफूमात्रै ठीक, अरू सबै बेठिक, आफ्ना मान्छेको भनाइमात्रै सही, अरू पार्टी र पार्टीबाहिरका मानिसको विचार गलत ठान्ने अनि अरू दल र गुटसँग राजनीतिक छोइछिटो गर्ने कामले संकीर्णतावादको रोगबाट मुक्त हुनैदिँदैन। एकातिर नेतृत्व हडप्ने महŒवाकांक्षा, त्यही महŒवाकांक्षालाई मलजल गर्ने गुटउपगुटको निर्माण अनि तिनलाई भरथेग गर्ने संकीर्णतावादी सोचाइले नेकपाहरूलाई भित्र र बाहिर एकीकृत हुन दिँदैन। न प्रगतिशील र जनमुखी रूपान्तरणको एजेन्डा बोक्न र लागु गर्न दिन्छ। नेकपाका नेताकार्यकर्तामा आलोचनात्मक विवेक जगाउनुको साटो संकीर्णतावादी सोचाइ फैलाउने कामले पार्टीलाई गुटउपगुटको मैदानमात्रै बनाउँछ र अन्त्यमा अन्तरकम्युनिस्ट पार्टी एकता होइन, फुटको खाडलतिरै जाक्छ।
पार्टीभित्रको होस् या पार्टीबाहिरको सत्ताबाहेक अरू सबै भ्रम भन्ने थेगो कण्ठ गर्दै, प्रगतिशील र जनमुखी रूपान्तरण र संघर्षलाई भन्दा पनि आफ्नो पार्टी वा गुटलाई महान् र गौरवशाली ठान्ने अनि कार्यकर्ता बढी पाल्न र संरक्षण गर्न सक्ने नेताप्रति गौरवान्वित हुने मनःस्थिति त्याग्न नसकेसम्म विभाजन अनिवार्य र स्वाभाविक भइरहन्छ। छुट्टाछुट्टै चुल्होचौकामा खाएर एकताको राग अलाप्ने नेताकार्यकर्ताहरू यस्ता प्रश्नमा आत्मालोचनात्मक ढंगले सोच्न तम्तयार छन्? नेकपाको ६३औँ स्थापना दिवसले उठाएका यस्ता प्रश्नको उत्तर खोज्नु जरुरी छ।
पहिले किसान, मजदुर, महिला र दलितका सबाल उठाएर भुइँतहमा केही संघर्ष गर्दै स्थापित भएका नेकपाहरू अचेल प्रगतिशील र जनमुखी एजेन्डाबिनाका भुइँफुट्टे दल भएका छन्। यस्ता भुइँफुट्टे पार्टीहरू नेतृत्वको महŒवाकांक्षा, गुटउपगुटमा विभाजन र संकीर्णतावादी सोचाइको रोग सल्किनासाथ विभाजित हुने गरेका छन्। फेरि पनि भुइँतहबाटै गरिखाने जनताका सबाल उठाउने, उनीहरूको संघर्षकै बीचबाट नेतृत्व स्थापित गर्ने अनि टुटफुट र गुटको राजनीतिलाई निःशस्त्र पार्ने काममा कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताको ध्यान र समय गएन भने नेकपाको ६३औँ स्थापना दिवसले उठाएका प्रश्न अनुत्तरितै रहने छन्।

No comments:

Post a Comment