Thursday, April 26, 2012

माओवादीमा अहंकार

इतिहास, विचार, जनमत, संगठनलगायत सबै थोकले साथ दिए पनि चुनौतीहरुको चक्रव्यूहको तुलनामा योग्य नेतृत्व नपाउँदा महँगो मूल्य नेकपा (एमाले) र नेपाली कांग्रेसले चुक्ता गरे। अभागी मृग ब्वाँसोको फन्दामा पर्नुसरहको त्यो दुर्गति अब माओवादी भोग्दै छ। अन्तर्द्वन्द्व, छलछाम र षड्यन्त्र चरम चुलीमा छ। चुलिएको महत्वाकांक्षा र अभिनय गरिएको छलकारी नाटकबीच विरोधाभास छ। प्रेमीले विवाह गर्नुअघि पे्रमिकालाई आकाशका तारा झारिदिन्छु भन्छ, विवाहपछि बंगारा। यस्तै अनाचार गरी करोडपति कमान्डरहरुले आफ्ना सहकर्मीहरुका चेक खोसेर रोडपति बनाइदिएका छन् । माओवादीमा करोडपतिविरुद्ध रोडपतिहरुले स्ाडक तताएका छन् र अवकाश रोजेका छन्। पद, पैसा र प्रतिष्ठाको पछि नेतृत्व र कार्यकर्ताहरु भौतारिँदा र भिडबाट पार्टी डोरिँदा यस्तो संकट हातलागी हुन्छ। माओवादीमा जोरजम्मापछि झगडाले स्थान पाएको छ। यस वास्तविकतालाई आत्मसात गर्दै संकटबाट पार पाउन जनतास्ामक्ष कुरा प्रस्ट राख्नुपर्नेमा उपाध्यक्ष मोहन वैद्य सुन्दर सौन्दर्यशास्त्र र कुरुप युद्धबीच पिङ खेलेर कार्यकर्ता अल्मल्याइरहेका छन् भने अध्यक्ष पुष्पकमल दाहाल युद्ध र बुद्धको बीचमा असंगतिपूर्ण अशोक कथाको नाटक मञ्चन गर्दैछन्। पञ्चशीलको सिद्धान्त र माओवादी आचारण विपरीत धु्रव हुन्। अहिंस्ाा, क्षमा, दया, परोपकार र शान्तिले प्रत्याक्रमणको चरणमा रहेको. जनयुद्धस्ाँग कुनै सम्बन्ध राख्दैन। माओवादी ढाँटको राजनीतिलाई बौद्ध धर्मसँग जोड्नु निरर्थक प्रयास हो। अंगुलीमाल र अशोकले आफ्नो कुरुप अनुहार चोख्याउन बुद्धम् शरणम् गच्छामी भने होलान्। तर, बौद्ध धर्मको अवधारणागत महत्ता एकदुई जना महत्वाकांक्षीहरुको लहडमा कहिल्यै निर्भर रहेन। बौद्धमार्गी हुनेदेखि युद्ध छोड्नेसम्मका नाटक गर्न छाडी माओवादी नेताहरुले पार्टीलाई मेल, साथीलाई दिल र जनतालाई घुलमिलको खुराक दिएर राजनीतिलाई दिशा दिनु बुद्धिमानी हुन्छ।

हान्ने र हिँड्ने दाउ
आलु खाएर पेडाको धाक जति लगाए पनि माओवादी दरबार, दिल्ली र खाँटी उग्रवामपन्थीहरुको खिचडी थियो। हतियार बिसाउनुमात्र उग्रवामपन्थीजस्तो राजनीतिक कुष्टरोगबाटको उन्मुक्ति होइन। दिल्ली, पूर्वदरबारिया र भारतीय उग्रवामपन्थीहरुसँग सम्बन्धका अवशेषले काम पाएसम्म यो पार्टी र यसभित्रका अमूक गुटहरु एमाले कित्तामा आएर पूर्ण लोकतान्त्रिक एवं सच्चा क्रान्तिकारी बन्न सक्दैनन्। सम्पूर्ण जनआन्दोलनकारी शक्तिको पहल र सामर्थ्यमा हाँसिल सफलता र सत्तालाई एकलौटीरुपले कब्जामा लिन हान्ने र हिँड्ने (हिट एन्ड रन) नीति अर्को चुनावमा वाईसीएल संस्करणमा प्रयोग गर्ने दाउ माओवादीका सबै गुटले हेरिरहेका छन्। बुद्ध र युद्ध अन्ार्गल चर्चा अरु दललाई अल्मल्याउनमात्र हो।
अहंकार अर्थात् अन्धकार
राजनीतिमा अहंकार अन्धकार भविष्यतिरको यात्राको प्रस्थान विन्दु हो। संविधानसभा निर्वाचनपछि माओवादी कार्यकर्ताले ठानेजस्तो विशेष धातुले बनेको पार्टी रहेन। कुनै समयमा कार्यकर्ताआधारित उक्त पार्टी क्रमशः सभासद्, केन्द्रीय सदस्य र केही थान मन्त्री आधारित पार्टी भइसकेको छ। राजनीति फापेका र नफापेका अर्थात् हुने र नहुनेबीचको खाडल त्यहाँ एमाले र कांग्रेसमा भन्दा पनि भयावह छ। कार्यकर्ताले समयमै पूर्वानुमान गरेको संकटको विकाराल स्वरुपबारे सुन्ने कान नेतृत्वसँग छैन। २०४८ र २०५९ सालतिर विजयोन्मादका कारण कांग्रेस र एमालेका सांसदहरु पृथ्वी आफैँले थामेको र सृष्टिको आखिर घडी त्यही कालखण्ड रहेको भ्रममा हुन्थे। त्यसरी नै आज माओवादीभित्रका केही थान जोडीहरु र केही दर्जन युद्ध सरदारहरु सभासद् र आलोपालो मन्त्री हुँदा अहंकारले अन्धा भएका छन् । कसको पीडा कति छ भनेर खोजी गर्ने सद्बुद्धिको स्थान कसले कति कमायो र कति सुविधा पायो भनेर जल्ने 'विनाश काले विपरीत बुद्धि'ले काम भएको छ। एक खेमाले अर्को खेमालाई लगाएका आरोप केलाउने हो भने कोभन्दा को कमको अवस्था छ। राज्यसत्तामा तर मार्न दाहाल र भट्टराई पक्षधरले पाएका छन् भने समानान्तर सत्ताको आडमा कब्जा गरिएका घर, जग्गा र सम्पत्तिमा मनोमानी मोहन वैद्य पक्षधरहरुको छ।
वैद्य र क्रमभंग
मोहनविक्रम सिंह र निर्मल लामासँगको सहकार्य र संघर्षको बेला होस् वा दाहाल र बाबुराम भट्टराईको सामदामसामु, जीवनभर वृष्टिछायाँमा पर्नु मोहन वैद्यको प्रमुख चिनारी बन्यो। अर्थात् वैद्यलाई कमरेड तेस्रा भन्दा अत्युक्ति हुँदैन। सँगसँगै सत्य के पनि हो भने समय सधैँ स्थिर रहँदैन। मोहनविक्रम स्कुलिङका पाका हस्तीहरु रामबहादुर थापा, सीपी गजुरेल, हरिभक्त कँडेलदेखि पुष्पलाल स्कुलिङ हुँदै एमालेको करिस्मा बढाइदिएका शिवराज गौतम, खगेन्द्र खड्काले सम्म एकाएक धोका दिएर दाहालसामु आत्मसमर्पण नगरेको खण्डमा कमरेड तेस्राको स्थान र आकर्षणमा क्रमभंग हुने सम्भावना बलशाली छ। आफ्नो पार्टीको अखण्डित जीवनको पक्षमा दृढतापूर्वक अडिएर होस् वा नैतिकता र जबाफदेहीको बलले जोश र जाँगर भएका असन्तुष्ट कार्यकर्तालाई गोलबन्द गरेर, वा आफूप्रतिको आकर्षणलाई राजनीतिक पुँजीमा बदल्ने सुन्दर अवसरको सदुपयोग गरेर वैद्यले माओवादी संस्थापनका अतिरिक्त अन्य दलहरुलाई आगामी दिनमा ओठतालु सुकाइदिने खतरा छ। विधिदेखि विद्रोहसम्मलाई सम्बोधन गर्ने हुनाले नै राजनीतिलाई सर्वश्रेष्ठ नीति मानिन्छ। माओवादीको चलाखी वा रुपान्तरणको चाल हेरेेर अन्य दलहरु योग्य हुनसक्नु वा चुक्नुसँग नेपालको भविष्य निर्भर छ।
बाबुरामको सही कद
विद्यार्थी कालमा बाबुराम नामले वाहीवाही बटुले पनि कठोर राजनीति वृत्तले बाबुरामलाई फुच्चेराम बनाइदिएको छ। इतिहास, विचार, संगठन, जोखिम, जबाफदेही, रचनात्मकता र लोकप्रियता कुनैै हिसाबले पनि बाबुराम भट्टराई समकालीन अन्य नेताभन्दा विलक्षण देखिएनन्। दाहाल नेतृत्वको सरकारका बेला विशेषगरी सेनापति काण्डताक उच्शंृखल अभिव्यक्ति दिन उनी पनि चुकेनन्। त्यति बेलाको उत्तेजना र अहिलेको परिपक्वता दाँज्दा सन्देहास्पद भूमिकाको गन्ध आउँछ। प्रधानमन्त्री चयनको क्रममा दाहालले भोगेको सात पटकको पराजय र उम्मेदवार बदल्दा पहिलो प्रयासमै भएको जितबाजीले भट्टराईको अवसरवाद सर्वांग भयो । धोबीघाट गठबन्धन भट्टराईले आजसम्म चढेका असंख्य अवसरवादी भर्यारङमध्ये जीवनकै महत्वपूर्ण हो। मन्त्रिमण्डल गठनकै क्रममा उक्त गठबन्धनरुपी सुन कुसुरीको गला रेटेपछि भट्टराईका जरा खोजी हुन थाल्यो। पार्टी, साथी, सहयात्री अन्य दल, संविधानसभा, संसद्लाई समेत गुमराहमा पारी गरिएको बीप्पा सम्झौताले वास्तविकता बुझ्न सघाउ पुर्यातयो। दाहाल, नेपाल र खनालको पालामा शान्ति प्रक्रिया अघि नबढेको तर भट्टराईको कार्यकालमा गति पाएको भन्नु, प्रधानमन्त्री हुँदा र नहुँदा भट्टराईले खेलेको भिन्नाभिन्न्ौ भूमिकाप्रति आँखा चिम्लिनु हो। जसरी खनाल सरकारको कार्यकालमा भएको अधिक वर्षाको साइनो खनालसँग थिएन, त्यसरी नै विगतको कटुताबाट पाठ सिकेर तीन दलले शान्ति प्रक्रियामा हाँसिल गरेको प्रगतिसँग रबरस्ट्याम्पको रुपमा रहेका भट्टराईको कुनै साइनो र सम्बन्ध छैन।
डमीलाई कोट, माओवादीलाई भोट
रुपान्तरण भएर आए पनि माओवादी लोकतान्त्रिक नेपालको भरपर्दो र नमुनायोग्य अगुवा बन्न सक्दैन। 'पशु खेद्नू पछि लागी, मान्छे खेद्नू अघि लागी' त्यसै भनिएको होइन। अनिच्छापूर्वक, जनदबाबले घिसारिएर मूल धारमा आएकाले माओवादीले भोट पाउनु र कपडा पसलमा उभ्याइएको पुतला (डोमी) ले कोट पाउनु एउटै थियो। एक पार्टी, दुई कार्यनीति अख्तियार गरी माओवादीभित्रका गुटहरु तँ हानेजस्तो गर, म रोएजस्तो गर्छु शैलीको धुर्त्याइँ गरिरहेको हुनसक्ने भएकाले ढुक्क हुने अवस्था छैन। उल्का पिण्ड कुन ग्रहको कहाँनेर ठोक्किँदैछ भन्ने गणित ज्योतिषीले भन्न सक्छ। तर, वायुको गति र चापमा आउने फेरबदलले विन्दुमा ल्याउनसक्ने अन्तरबारे भन्न सक्दैन। त्यसरी नै माओवादी सामदामको सामना गर्न पनि उसका प्राप्तिको गणित ज्योतिषदृष्टि मात्र पर्याप्त छैन, मौसम विज्ञानदृष्टि पनि त्यतिकै अपरिहार्य छ।
source:http://nagariknews.com/

No comments:

Post a Comment